गोरु पाल्ने किसानलाई पालिकाको तीन हजार अनुदान

२०८१ चैत्र १, शुक्रबार

गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिनेभएको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रतिकिसान तीन हजार रुपैयाँका दरले अनुदान दिने जनाएको छ।

अनुदान दिनका लागि पालिकाले दुई सय ५८ किसान छनोट भएका छन्। जसअनुसार वडा नं १ मा २४, वडा नं २ मा ३४, वडा नं ३ मा नौ, वडा नं ४ मा ३९ तथा वडा नं ५ मा ६९ जना छन्। त्यसैगरी वडा नं ६ मा ३१, वडा नं ७ मा १४ र वडा नं ८ मा ३८ जना किसान छनोट भएको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए।

अनुदानका लागि पालिकाले आवेदन खुलाएको थियो। जसमध्ये पालिकाले अनुगमन गरेपश्चात् कम्तीमा दुई वटा अर्थात् एक हल गोरु पाल्ने किसानलाई छनोट गरेको ज्ञवालीको भनाइ छ। अनुदानको रकम सम्बन्धित वडाबाट वितरण गरिनेछ।

गाउँपालिका अध्यक्ष युवराज केसीले विविधतायुक्त कृषि प्रणालीलाई सहयोग गर्न अनुदान दिन थालिएको जानकारी दिए। “समथर र ठूला खालका जग्गामा यन्त्र उपकरण दिइएको छ”, उनले भने, “भिराला जग्गामा गोरुकै काम हुने भएकाले अनुदान दिन थालेका हौँ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार