पूर्वराजाको भान्जा भन्दै सवा करोड ठगी गर्ने सिंह कारागार चलान

२०८१ चैत्र १, शुक्रबार

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै सवा करोड भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका अनुप सिंह कारागार चलान भएका छन् । उनी धरौटी नबुझाएपछि कारागार चलान भएका हुन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको २८ फागुनको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले १२ लाख धरौटीमा तिरेर रिहा आदेश दिए पनि धरौटी नबुझाएपछि उनी कारागार चलान भएका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सिंहलाई नख्खु कारागार पठाइएको छ । यही ठगीमा सिंहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका तीन जना भने धरौटी तिरेर रिहा भएका छन् ।

न्यायाधीश जोशीको इजलासले सिंहका सवारी चालक ललितपुरका सचिन व्यञ्जनकारलाई ६० हजार, उनका वकिल इलाम घर भएका दीपकराज खनाललाई १ लाख र कलंकीस्थित दिव्यज्योति कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजकुमार केसीलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनीहरू सबै जना भने धरौटी बुझाएर रिहा भएको प्रहरीले जनाएको छ । यही ठगी कसुरका प्रतिवादी रामचन्द्र खनाल भने फरार छन् ।

आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा बताउने काठमाडौं महानगरपालिका–२७ का ५३ वर्षीय सिंहले अमेरिका पठाउने भन्दै सवा करोड बढी ठगी गरेको आरोप छ । एकै महिलाबाट मात्रै ९७ लाख रुपैयाँ ठगी गरेको भन्दै सिंहविरुद्ध जाहेरी परेको थियो । विभिन्न नक्कली कागजात बनाएर विश्वासमा पार्दै उनले ठगी गरेको प्रहरीको भनाइ छ ।

उनी यसअघि पनि पटक पटक पक्राउ पर्दै मुद्दा चलेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार