
बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले आफ्नो पार्टीभित्र कुनै गुट नभएको दाबी गरेका छन् ।
रास्वपाको केन्द्रदेखि वडासम्म एउटै गुट भएको जिकिर गर्दै उनले अझै २० वर्षसम्म पनि पार्टीमा यो गुट, त्यो गुट भन्ने नहुने बताएका हुन् । यदि त्यसो गरेमा जनताले सराप दिने उनको भनाई थियो । आज रुपन्देहीको देवदह नगरपालिका–७ को पार्टी कार्यालय उद्घाटन गर्दै सभापति अर्यालले पार्टी अझै पनि रवि लामिछानेको नेतृत्वमा रहेको स्पष्ट पारे । उनले रविलाई ठुला दलहरूले प्रतिसोध राखेर फसाउन खोजेको भन्दै अर्यालले उनको ठाउँमा आफूले केही समय कार्यवाहक अध्यक्ष रूपमा पार्टी सम्हालेको जिकिर गरे ।
उनले भने, ‘हाम्रो पार्टीमा कुनै गुट, उपगुट छैन । पार्टी केवल रवि लामिछाने गुट हो । उहाँले जुन अभियान लिएर हिँड्नुभयो, त्यसमा हामी सबै एकबद्ध छौँ ।’ उनले पार्टी सभापति अप्ठ्यारोमा परेको बेला पार्टीलाई जोगाउन सबैलाई एक ढिक्का राख्ने जिम्मेवारीमा आएको बताए ।