
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा विद्यमान पुँजीवादी व्यवस्थालाई परिवर्तन गरी समाजवादी गणतन्त्र स्थापना गर्नुपर्ने बताएका छन्।
शनिबार ललितपुरमा समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले वर्तमान व्यवस्था दलाल पुँजीवादको प्रभावमा रहेको भन्दै यसको अन्त्य आवश्यक रहेको बताए। उनले सामन्तवादी व्यवस्थामा फर्किनु अस्वीकार्य रहेको उल्लेख गर्दै समाजवादी गणतन्त्रको स्थापनाको विकल्प नरहेको धारणा राखे।
‘अहिले व्यवस्था बदल्नुपर्छ भन्ने आवाज उठिरहेको छ। अवश्य पनि पुँजीवादी व्यवस्थालाई बदल्नुपर्छ, तर सामन्तवादतर्फ फर्किनु हुँदैन। १०४ वर्षको राणा शासन र २४० वर्षको राजतन्त्रकालीन शासकहरूले देशलाई आफ्नो स्वार्थअनुसार चलाएका थिए। उनीहरूबाट अब मुक्ति पाउनुपर्छ। समाजवादी गणतन्त्र नै अबको बाटो हो,’ अध्यक्ष नेपालले भने।
अध्यक्ष नेपालले सबैलाई वंशवादको मानसिकता त्याग्न आग्रह गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहप्रति तीखो आलोचना गरे। उनले पूर्वराजाले कुनै त्याग, तपस्या वा बलिदान नगरी केवल देश लुट्ने काम गरेको आरोप लगाए। ‘लुट्ने इतिहास बोकेकाहरूको हातमा फेरि देश सुम्पिनुहुँदैन,’ उनले जोड दिए।
देशको इज्जत, प्रतिष्ठा र मर्यादा जोगाउन समाजवादी व्यवस्था आवश्यक रहेको भन्दै यसका लागि जनताको एकता जरुरी रहेको बताए। उनले नेपाली जनतालाई समाजवादी गणतन्त्रको दिशामा अघि बढ्न आह्वान गरे।