काठमाडौं : प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको अवकाश हुन लाग्दा गरिएका दुई काज सरुवा मध्य एक रद्द भएको छ। गृहमन्त्रालयले आइजीपी कुँवरको क्षेत्राधिकारमाथि रोक लगाउदै एउटा काज सरुवा रोकेको हो। चैत ५ गते उनी अवकाशमा जाने भएपछि निकटस्थ अधिकृतलाई काज सरुवाबाट विभिन्न युनिटको इन्चार्ज बनाउने पुरानो परम्परालाई आईजी कुँवरले पनि पछ्याउँदा एउटालाई शक्ति केन्द्रको दबाबमा रोकेको हो।
आईजी कुँवरले शुक्रबार ललितपुरको चापागाउँस्थित प्रहरीबृत्त प्रमुखमा डीएसपी यामकुमार श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा इन्स्पेक्टर सन्तोष न्यौपानेलाई खटाउने गरी काज सरुवा गरेका थिए। तर, जिल्ला ट्राफिक दाङको हकमा भएको काज आदेशलाई गृहसचिव गोकर्णमणि दवाडीले रोकिदिएको स्रोतले जनाएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार आइतबार रवाना बुझाउने गरी काज आदेशबमोजिमको पत्र बनिसकेको अवस्थामा इन्स्पेक्टर न्यौपानेलाई खटाउने काम रोकिएको हो। यस्तै, प्रहरी बृत्त, चापागाउँ खटाइएका डीएसपी श्रेष्ठ आईजी कुँवरका निजी सुरक्षा अधिकृत हुन्। दाङ ट्राफिक पठाउन चाहेका इन्स्पेक्टर न्यौपाने आईजीपत्नी लक्ष्मी कुँवर अध्यक्ष रहेको नेपाल प्रहरी श्रीमती संघमा कार्यरत थिए। आईजीले प्रहरीको सरुवा मापदण्डविपरित इन्स्पेक्टर न्यौपानेलाई दाङ पठाउन खोजेको भन्दै गृह सचिवले रोकेको स्रोतको दावी छ।





