
काठमाडौं : नेपाल समाजवादी पार्टीले सरकार बिचौलिया र दलालहरूको कब्जामा रहेको आरोप लगाएको छ। आज काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकपछि जारी प्रेस वक्तव्यमा नेसपाले यस्तो आरोप लगाएको हो।
‘राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो अवस्थाको सामना गरिरहेको छ। भ्रष्टाचार र कमिसनको कारण अर्थतन्त्र सङ्कटग्रस्त छ। जनजीविका कहालीलाग्दो अवस्थामा छ। सरकार बिचौलिया र दलालहरूको कब्जामा छ। सरकार सार्वभौम संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउने, सदनलाई छल्नेजस्ता काम गर्दै लोकतान्त्रिक मूल्य-मान्यताको उपहास गर्दैछ। यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रको स्वाधीनता खतरामा पर्दै गएको देखिन्छ,’ वक्तव्यमा उल्लेख गरिएको छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादीहरू सलबलाएका पनि नेसपाले बताएको छ। ‘यसको सशक्त प्रतिवाद गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न हाम्रो पार्टी प्रतिबद्ध छ,’ वक्तव्यमा भनिएको छ।
नेसपाले आउँदो चैत १५ गते आफूसम्मिलित समाजवादी मोर्चाले प्रदर्शनको आयोजना गरेको भन्दै त्यसमा प्रतिबद्धता जनाउन अपिलसमेत गरेको छ।