
काठमाडौं : नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर सोमबारदेखि अवकाशमा जाँदै छन्। नयाँ आईजीपीका लागि तीन जना एआईजीहरू प्रतिस्पर्धामा छन्। एआईजी दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी आईजीपीको दाबेदार हुन्।
प्रहरीको ३१ आईजीपीको दाबेदारमा एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धी हुन्। थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख हुन्। गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख र र तामाङ उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा छन्। एआईजी ३ जना नै २०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन्।
सीआईबी प्रमुख थापा २०७९ चैत ६ गते एआईजीमा बढुवा भएका थिए। त्यसको १८ दिनपछि २०७९ चैत २४ गते सुदीप गिरी र टेकबहादुर तामाङ एआईजी बनेका थिए। वरिष्ठताको आधारमा गिरी र तामाङभन्दा थापा अघि छन्।
मन्त्रिपरिषद्को बैठकले मेरिट लिस्टका आधारमा आईजीपी नियुक्त गरेमा थापा नै ३१औं नम्बरको आईजीपी हुने सम्भावना छ। पहिलो नम्बरमा रहेका थापा फिल्ड कमान्डमा अनुभवी मानिन्छन्। गिरीसँग विशेष ब्युरोमा लामो समय काम गरेको अनुभव छ। लामो समय अपराध अनुसन्धान विभागमा बसेर काम गरेको अनुभव एआईजी तामाङसँग रहेको छ।