
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले अहिले नै राजा आउने डरले नआत्तिन दलहरूलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशमा गणतन्त्र आएको दुई दशक बितिसक्दा पनि राजाले अहिलेसम्म कुनै हस्तक्षेप नगरेको भन्दै सुशासन र समृद्धिका लागि एकपटक मलाई साथ दिनुस् भन्दा यति धेरै आत्तिनुपर्ने कारण नभएको स्पष्ट पारे ।
उनले दलहरूलाई सुध्रिन आग्रह गरे । उनले भने, ‘यो देश तपाईं–हामीले नै मिलेर बनाउने हो। यो देशमा गणतन्त्र ल्याएको तपाईंहरूले नै हो हामीले होइन । राजाले मध्यरातमा जनताको नासो जनतालाई सुम्पिन्छु भन्दै राजगद्दी र राजमुकुट जनतालाई सुम्पिएर हात जोड्दै निस्किएको तपाईंहरूले देख्नुभएकै हो । तर, तपाईंहरूकै कुकर्मकै कारण देशमा यो अवस्था आएको हो,’ उनले भने ।
उनले देशमा सुशासन र समृद्धि कायम गर्न सरकारसँग आग्रह गरे ।