आज गिरिजाप्रसाद कोइरालाको पन्ध्राैं स्मृति दिवस

२०८१ चैत्र ७, बिहीबार

काठमाडौँ : नेपालमा सशस्त्र द्वन्द्वको अन्त्य गरी द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफूअनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो। यसपछि भएका आन्दोलनको नेतृत्व कोइरालाले गरेका थिए।

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए। कोइरालको नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनः स्थापना गर्न सहमत भएका थिए।

आन्दोलन सफल भएपछि कोइराला चौथो पटक प्रधानमन्त्री भएका थिए। पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रूपमा सीमित गरेको थियो। कोइरालाकै नेतृत्वमा तत्कालीन माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो।

उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक बिपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो। पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ।

पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्रद्वन्द्वरत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो। चार पटक प्रधानन्त्री भएका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभार समेत सम्हालेका थिए। राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका हुन्।

पूर्वप्रधानमन्त्री कोइरालाको नेतृत्वमा २०६५ जेठ १५ गते मुलुकबाट दुई सय ४० वर्षको इतिहास बोकेको शाहवंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो। बोलेको कुरा पुर्‍याउने राजनेताका रूपमा स्थापित कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १५औँ स्मृति दिवस मनाउँदै छन्। यस अवसरमा आज जिपी कोइराला फाउन्डेसनले उनको स्मृतिमा राजधानीमा कार्यक्रम आयोजना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार