
काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले ‘बाबुरामले सकेनन्’ भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता भएको बताएका छन्। बिहीबार सुनसरीको झुम्कामा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रदेशस्तरीय प्रथम महाधिवेशन उद्घाटन गर्दै उनले ‘बाबुरामले सकेनन्’ भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता भएको बताएका हुन्।
उनले सबैलाई मिलेर वैकल्पिक शक्ति निर्माण गर्न पनि आग्रह गरेका छन्। उनले भने,’बाबुरामले सकेनन्” भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता हो। आउनुहोस्, मिलेर जाऔँ, वैकल्पिक शक्ति निर्माण गरौँ। तपाईँ चुप लागेर होइन, हातमा हात जोडेर अगाडि बढे मात्र यसको निकास मिल्नेछ।’
उनले आफ्नो पार्टीको जस्तो दस्ताबेज अन्य कुनै पार्टीको नभएको पनि बताएका छन्। नयाँ शक्ति कुनै एक मात्र वर्ग, जाति, वा समुदायको प्रतिनिधित्व गर्ने नभई सम्पूर्ण वर्ग, जाति, र समुदायहरूको साझा केन्द्र रहेको उनको दाबी छ।
उनले भने,/हाम्रो जस्तो दस्ताबेज कुनै पनि पार्टीको छैन। अरू पार्टीहरू कुनै न कुनै रूपमा एउटा निश्चित समुदाय, लिङ्ग, वा वर्गसँग मात्र सम्बन्धित देखिन्छन्। तर हाम्रो पार्टी कुनै एक मात्र वर्ग, जाति, वा समुदायको प्रतिनिधित्व गर्ने होइन। यो सम्पूर्ण वर्ग, जाति, र समुदायहरूको साझा केन्द्र हो, जहाँ सबैको समान सहभागिता हुन्छ। हाम्रो पार्टी कुनै निहित स्वार्थ राखेर बनेको होइन, बरु समावेशिता, समानता, र न्यायलाई आधार बनाएर तयार पारिएको साझा फूलबारी हो, जहाँ सबै वर्गका नागरिकले आफूलाई समान रूपमा प्रतिनिधित्व भएको महसुस गर्न सक्छन्।’