काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुने अवस्था आइहाले बक्यौता नतिर्नेको लाइन काटेर अन्यत्र वितरण गरिने बताएका छन्।
घिसिङले अहिले लोडसेडिङ हुने अवस्था नरहेको तर माग बढ्दै जाँदा त्यस्तो अवस्था आए डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली प्रयोग गरेका तर बक्यौता नतिरेकाहरूको लाइन काटिने बताएका हुन्। भारतसँग रातिको समयमा पनि बिजुली बिडिङ गर्नका लागि छलफल भइरहेको उनको भनाइ छ। भारतले रातिको समयका लागि पनि बिजुली बिडिङ गर्न दिए कतै पनि लाइन काट्नुपर्ने अवस्था नआउने घिसिङले दाबी गरे।
‘माग बढेर लोडसेडिङ हुने अवस्था आइहाले डेडिकेडेड ट्रंकलाइनको बक्यौता छ, त्यसलाई काट्दै जान्छौँ। त्यसले पनि पुग्दैन भने अरु पनि प्राथमिकता बनाएर काट्छौँ,’ घिसिङले भने, ‘यो अवस्था भनेको केही समयलाई मात्रै हो। भारतले राति पनि बिडिङ गर्न दिइहाल्यो भने कतै पनि लाइन काट्नुपर्ने अवस्था पनि आउँदैन।’
उनले अहिले दिउँसो कतै पनि लाइन नकाटिएको र उद्योगहरूमा १/२ घण्टा मात्रै काटिएको जानकारी पनि दिए।





