काठमाडौं : पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको छ। प्रहरी र अर्को वडाका वडाध्यक्षसहित ७ जनाले आफूलाई कुटपिट गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन्।
फागुन २९ गते राति वीरगन्ज महानगरपालिका-८ स्थित डाइमन्ड पार्टी प्यालेसमा आफूलाई कुटपिट गरेको उनको दाबी छ। उनलाई कुटिरहेको भिडिओसमेत सार्वजनिक भएको छ। पार्टी प्यालेसका सञ्चालक वीरेन्द्र पासवानका छोराको जन्मोत्सवमा गएका बेला आफूलाई कुटपिट गरिएको दाबी वडाध्यक्ष चतुर्वेदीको दाबी छ।
सो घटनामा उनले कुटपिटमा ७ जनाविरुद्ध जाहेरी दिएका छन्। वीरगन्ज-१३ का ४३ वर्षीय सागर शमशेर जबरा, वीरगन्ज-१० का वडाध्यक्ष सुशील साह कानु, वडा नं ११ का ४२ वर्षीय भूषण यादव, वडा नं १६ का भुसाल यादव चौरसिया, वडा नं ६ का ३७ वर्षीय विक्की गुप्ता, सागरको घरमा डेरा बस्ने ३५ वर्षका दीपेश क्षेत्री र वीरगन्ज महानगरपालिलका-१० का अन्दाजी ५७ वर्षका लखनलाल गुप्ताविरुद्ध जाहेरी दिएका हुन्। सुशील वडाध्यक्ष, सागर वरिष्ठ सई र दीपेश प्रहरी जवान हुन्।





