सिरहा : दीपक मरिक डोमको परिवार विस्थापित भएको छ । गाउँपालिका अध्यक्षका आफन्तसहित समर्थकको धकधम्की गालीगलोजबाट रातिदेखि दीपक मरिक डोमसहित उनको परिवार विस्थापित भएको हो ।
विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपकको घर डोजर लगाएर भत्काएको थियो । घटना सार्वजनिक भएपछि त्यसमा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।
घर भत्काएको घटना सार्वजनिक भएपछि असुरक्षा बढ्न थालेपछि दीपककी श्रीमती अनिता मरिक सिरहा नपा १९ सन्हैठामा आफन्तका बस्न गएका छन्। दीपक आफै भने गाउँकै एक जनाको घरमा बसोबास गरेको स्थानीयले बताए । उनका छोराछोरीहरू भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए ।
प्रहरीले सुरक्षाका कारण दीपकका परिवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए । घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलीप यादवलाई पक्राउ गरेपछि औरहीमा सुरक्षा व्यवस्था बढाएको छ ।
मरिक परिवारको घर सुरक्षाका लागि करिब दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ । औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दीपक मरिकको गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर घर भत्काएको थियो।





