काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्ख्यौली थलो गोरखा पुग्दा आफूलाई खुसी लागेको बताएका छन्।
शनिबार गोरखकाली मन्दिरमा पूजाअर्चना गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गोरखा आफ्नो जन्मथलो नभए पनि पुर्खाको भूमि भएकाले यहाँ आउन पाउँदा आनन्द महसुस भएको सुनाए। “गोरखा आएर मलाई खुसी लाग्यो। यो मेरो जन्मथलो होइन, तर पुर्खाको थलो हो। यहाँ सबैलाई भेट्न पाउँदा पनि खुसी लागेको छ,” उनले भने।
उनले देशमा शान्तिको आवश्यकता रहेको औंल्याउँदै कसैले पनि अरूको अहित नसोच्नुपर्ने धारणा राखे। “अहिले देशमा शान्ति चाहिएको छ। कसैले कसैको कुभलो नचिताओस्, सबैको भलो होस्। देशमा शान्ति र विकास होस्, सबैलाई सुख-समृद्धि प्राप्त होस् भन्ने मेरो कामना छ,” उनले थपे।
गणतन्त्र स्थापनापछि पहिलोपटक गोरखा पुगेका शाहले गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरे। शाहवंशीय राजाहरूको कुलदेवताका रूपमा पूजिने गोरखकाली मन्दिरमा उनले करिब दुई घण्टा बिताए। उनले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकन पनि गरे।उनले आइतबार मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जाने कार्यक्रम रहेको छ।
यस भ्रमणका क्रममा पूर्वराजाका समर्थकहरूले केही समय राजसंस्था पक्षधर नारा लगाएका थिए। उनीहरूले आबुखैरेनीदेखि गोरखा दरबारसम्म मोटरसाइकल र्याली पनि निकालेका थिए।







