काठमाडौं : वरिष्ठ चिकित्सक डा खगेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ। ब्लुक्रस हस्पिटलका संरक्षक डाक्टर श्रेष्ठको ८९ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।
डा श्रेष्ठले सर्वसाधारणलाई मात्र नभई राजपरिवारमा समेत सेवा दिएका छन्। उनी तत्कालीन राजा वीरेन्द्रका निजी चिकित्सक समेत हुन्। उनी मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका पनि चिकित्सक हुन्। राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ।
डा श्रेष्ठको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको ब्लुक्रस अस्पतालले जनाएको छ। अस्पतालले उनको निधनपछि दु:ख व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा उनले गरेको योगदान सदा सर्वदा उचित तथा सम्मानका साथ युग युगसम्म स्मरण रहनेमा विश्वसत रहेको जनाएको छ। ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज कुपण्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ।
वीरेन्द्र युवराज हुँदादेखि नै चिकित्सकीय सेवा दिइरहेका उनले २०५३ सालमा औपचारिक रुपमा ‘शाही चिकित्सक’को उपाधि पाएका थिए। २०५८ जेठ १९ गते राज परिवार हत्याकान्ड भएपछि उनले सेवाबाट अवकाश लिएका थिए। उनी ६० वर्षे उमेर हद लागेर सेवाबाट ६ वर्षअघि नै रिटायर भइसकेका थिए, तर शाही चिकित्सकका रुपमा दुई–दुई वर्ष करार थप गर्दै सेवारत थिए। उनले केही समयअघि सम्म मुमा बडा महारानी रत्नलाई उपपचार सेवा दिइरहेका थिए।





