काठमाडौँ : माओवादी केन्द्रकी नेता पम्फा भुसालले निरङ्कुश राजतन्त्र पुनरागमन सम्भव नभएको दाबी गरेकी छन्। समाजवादी मोर्चाद्वारा शुक्रबार (आज) काठमाडौंको प्रदर्शनी मार्गमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
‘मान्छे मरेपछि फेरि बाँच्न सक्दैन। निरङ्कुश राजतन्त्रको पुनरागमन सम्भव छैन,’ भुसालले भनिन्। नागरिक दोस्रो दर्जाको नागरिक हुन इच्छुक नभएको उनले बताइन्। ‘नागरिक वर्गको अधिकार छाडेर सामन्ततिर फर्किनेवाला छैनन्,’ उनले भनिन्।
उनले सरकारले पनि आगोमा घ्यू थप्ने काम गरिरहेको टिप्पणी गरिन्। ‘सरकारले पनि आफूलाई सच्याऊ र सुशासनको अभियान अगाडि बढाऊ। आगोमा घ्यू थप्ने काम मात्रै गरेर नबस,’ उनले भनिन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमार्फत आउन चुनौतीसमेत दिइन्।





