काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको ‘विशेष बैठक’ आज बस्दै छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो ३ बजे सुरु हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, केन्द्रीय समिति बैठक दुई चरणमा बस्नेछ । “पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बस्नेछ । सोही बैठकले सभापतिमा रवि लामिछानेलाई जिम्मेवारी तोक्ने निर्णय गर्नेछ,” झाले भने, “दोस्रो चरणमा लामिछानेकै सभापतित्वमा बैठक बस्नेछ ।”
बैठकमा विभिन्न एजेन्डा तय गरिएको छ । पहिलो बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालबाट धन्यवाद ज्ञापन गरिनेछ । त्यसपछि सभापति रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक बस्नेछ । नेतृत्व छाडेको १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्कन लागेका हुन् । लामिछाने गएको कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा छ ।
०८१ पुस ८ गते लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिएका थिए । नेता–कार्यकर्ता र मतदाताको मागानुसार लामिछानेलाई जिम्मेवारीमा फर्काउन लागिएको कार्यवाहक प्रवक्ता झाको भनाइ छ ।





