काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) थाइल्याण्ड जाँदै छन् ।
मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन उनी बैंककतर्फ जान लागेका हुन् । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली दिउँसो १३:३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।





