काठमाडौं : नेपालमा व्यवस्थाविरोधी आन्दोलनलाई हिंसात्मक रूप दिएर फरार दुर्गा प्रसाईंलाई पक्राउ गर्न सुरक्षा निकायलाई कठिन भएको छ। शुक्रबार साँझदेखि फरार उनलाई प्रहरीका चार वटा टोलीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्। आइतबार र सोमबार उनले सामाजिक सञ्जालबाट आफू नेपालमै रहेको भन्दै सुरक्षा निकायलाई चुनौती दिइरहेका छन्।
‘दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोमा देखिएको दृश्यलाई नेपाल प्रहरीले सूक्ष्म ढंगले हेरेको छ तर यस्तो दृश्य काठमाडौंको जस्तो देखिँदैन। तराई वा आसपासको ठाउँ हुन सक्छ। हाम्रो ध्यान त्यता पनि गएको छ,’ खोजीका लागि खटिएका एक प्रहरी अधिकृतले भने। गृह मन्त्रालयका एक अधिकृतका अनुुसार प्रसाईंलाई कानुनी रूपमा विदेश यात्रा गर्न नपाउने व्यवस्था पनि गरिसकिएको छ।
पाँच दिनदेखि प्रहरीको सबै युनिटले निगरानी बढाउँदा पनि उनी भने फेला पर्न नसकेका हुन्। यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), विशेष ब्युरो, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका प्रहरी कार्यालयको ‘टास्क फोर्स’ले उनको खोजी गरिरहेका छन्। सबै नाकामा प्रहरी परिचालन पनि गरिएको छ। केही प्रहरी अधिकारीले उनी भारत गएको आशंका गरिरहेका छन्। प्रहरीको एउटा युनिटले प्रसाईंलाई खोज्न भारतीय प्रहरीसँग समन्वयसमेत गर्दै आएको छ।





