काठमाडौं : अर्घाखाँची, नुवाकोट र सोलुखुम्बुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका-३ ढुङ्गाडेमा सोही गाउँपालिका-४ लुटीपोखरीदेखि खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जीप अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपचालक मालारानी गाउँपालिका-४ लुटीपोखरी बस्ने २१ वर्षीय दिलिप खनाल र जीपमा सवार २१ वर्षीय बालकृष्ण रिजाल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य २ जनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ ।
नुवाकोटको ककनी गाउँपालिका-३ ढुङ्गानागाउँ बस्ने ३३ वर्षीय धर्मराज ढुङ्गानाको ना ६ त २०८२ नम्बरको ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनले च्यापिएर मृत्यु भएको छ । आफ्नै बारीमा थ्रेसर मेसिन लगाई फर्किने क्रममा थ्रेसर पल्टिएर च्यापिँदा गम्भीर घाइते भएका उनको वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोलुखुम्बुको सोताङ गाउँपालिका-२ जुकेमा सोताङबाट जुकेतर्फ जाँदै गरेको प्र ३-०१-०२४ च ६८१४ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोताङ गाउँपालिका-५ बस्ने ३० वर्षीया सरिता राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सोताङ प्राथमिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।





