सिंहदरबार खाली गर्न चोर नेताहरूलाई प्रभु साहको चेतावनी

२०८१ चैत्र २४, आईतवार

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश लुटेर खाने र खोक्रो बनाउने चोर र दलाल नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन् ।

आज जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले चोर नेताहरुले जतिसक्दो चाँडो सिंहदरबार खाली गर्दा नै उनीहरुको भलाई हुने चेतावनी दिएका हुन् । लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरुले सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने उनको उद्घोष छ । सम्बोधनको सुरुवातमै आक्रोश बोकेर पेश भएका पूर्वमन्त्री साहले नेताहरुको व्यवहारलाई कडा प्रश्न गरे ।

उनले भने,‘यी चोर नेताहरुलाई म सोध्न चाहन्छु–के तिमीहरुलाई राजा बनाउनको लागि नेपाली जनताले लडेका थिए ? तिमीहरुको छोराछोरीलाई विदेशमा मोजमस्ती गरुन् भनेर हामीले आन्दोलन गरेका थियौं ? के तिमीहरुलाई र तिमीहरुको खानदान, दर खानदानसम्मलाई पुग्ने अकुत सम्पत्तिको मालिक बनाउनको लागि लडेका थियौं ?’

साहले जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिहरु पनि अहिलेका शासकहरुले बेचेर खाएको गम्भीर आरोप लगाए । ‘देशलाई बन्धकी राखेर तिमीहरुको स्वार्थपूर्ति गर्न त हामी लडेका थिएनौं नि, नेपाली युवाहरुलाई विदेशमा मार्न तिमीहरुलाई नेता बनाएका हौं ? तिमीहरुको आसेपासेलाई मोटाउन हामी युद्ध लगेका थियौं र ?’

साहले आज देशमा नेताहरुको आसेपासे मालामाल भएको तर जनता बेहाल अवस्थामा रहेको चित्रण गरे । उनले भने,‘हामी हेर्न सक्छौं, लुट र भ्रष्टाचार बढेको छ, जनता लाचार बन्नुपरेको छ । नेताहरुको छोराछोरी विदेशमा मोजमस्ती गरिरहेका छन्, तर गरिबका छोराछोरी परिवार पाल्नको लागि विदेशमा मरिरहेका छन् । देश उजाड छ, जनता निराश छन् । नेताहरु मस्तीमा छन्, जनता सास्ती भोगिरहेका छन् ।’

साहले देशमा अहिले बिना घुस र कमिशन कुनै काम हुन नसक्ने बाध्यता सुनाए । जनताको करबाट बनेको बजेट आज टाउके नेताहरुले निजी सम्पत्तिजस्तो अंशबण्डाझैं भागबण्डा लगाएर खाईरहेको उनको गम्भीर आरोप छ । उनले भने,‘जल बेचे, जमिन बेचे, जंगल बेचे, यी चोर नेताले आज हुँदाहुँदै जनतासमेत बेचिरहेका छन् । लुटेराहरुले देशको सम्पत्ति खुलेआम विदेशमा थुपारिरहेका छन् ।’ कहिल्यै कसैको गुलाम नभएको देशलाई अहिलेका चोर नेताहरुले विदेशीको गुलाम र दलाली गर्दा आज नेपाल र नेपालीहरुको इज्जत तारतार भएको उनको आरोप छ ।

उनले शहीदहरुको रगतको व्यापार भैरहेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले शहिदरुको रगतको व्यापार भैरहेको छ, बदलावको बहाव बरालिएको छ, आन्दोलनका वीर योद्धाहरु विक्षिप्त छन् । नेताहरुको कुकर्म र अत्याचारले देश अँध्यारो सुरूङमार्गमा फसेको छ ।’ साहले आफूहरुले थालेको आन्दोलनको वेगलाई अहिलेका चोर नेताले रोक्न नसक्ने चेतावनी दिए ।

‘इतिहास साक्षी छ, नदीको प्रवाहलाई कसैले छेक्न सकेको छैन, हावाको बहावलाई कसैले रोक्न सकेको छैन, त्यसैले याद राख–तिमीहरुले हाम्रो आन्दोलनको वेगलाई रोक्न सक्ने छैनौं । हिजो नेपाली जनताले राणालाई भगाएकै हो, राजालाई हटाएकै हो, अब तिमीहरु भ्रष्ट, दलाल र लुटेराहरुलाई लखेट्ने निश्चित् छ ।’

साहले छोटे राजाहरुले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगर र यसको नेतृत्व बालेन्द्र शाहको ज्यादतीको पनि भण्डाफोर गरेका थिए । उनले कवाडमा आवद्धहरुलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको र आतंकको वातावरण सिर्जना गरेको भन्दै त्यसको विरोध गरे । काठमाडौंजस्तो संघीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीहरुलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको भन्दै साहले कडा आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार