तेलको भाउमा भारी गिरावट

२०८१ चैत्र २४, आईतवार

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भन्सार युद्ध सुरू गरेपछि कच्चा तेलको अन्तर्राष्ट्रिय भाउमा व्यापक गिरावट आएको छ।

त्यसै समयमा साउदी अरेबिया र रूससहितका तेल निर्यातकको संगठन (ओपेक प्लस) ले आपूर्ति बढाउने निर्णय गरेपछि कच्चा तेलको (ब्रेन्ट क्र्युड ओयल) अन्तर्राष्ट्रिय भाउ ह्वात्तै घटेर ६५ डलर प्रति ब्यारेल पुगेको छ। यो चार वर्षयताकै सबभन्दा कम भएको भनेर विभिन्न अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन्। कोभिड महामारीका कारण समस्यामा परेको विश्व अर्थतन्त्र सुधार हुने क्रममा रहेको बेला पछिल्लो पटक २०२१ को मे महिनामा तेलको भाउ ६५ डलरमा थियो।

ट्रम्पले नयाँ भन्सार नीति अनुसार सबै व्यापारिक साझेदार देशहरूलाई १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा छन्। प्रतिस्पर्धीहरूलाई भने रेसिप्रोकल (जबाफी) महसुल लगाउने घोषणा गरेका छन्। अरू देशले अमेरिकी उत्पादनमा लगाए जति नै भन्सार लगाउने भनेर उनले रेसिप्रोकल महसुल घोषणा गरेका छन्।

उनले आठ वटा देशहरूलाई ४० प्रतिशतभन्दा बढी भन्सार शुल्क निर्धारण गरेका छन् भने मुख्य प्रतिस्पर्धी चीनलाई ३४ प्रतिशत अनि भारतलाई २७ प्रतिशत भन्सार शुल्क निर्धारण गरेका छन्। अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि २० प्रतिशत भन्सार लगाएका छन्। त्यस कारणले विश्व अर्थतन्त्रमा नकारात्मक असर परेर तेलको माग घट्ने अपेक्षामा बिहीबार भाउ घटेर ७० डलर प्रति ब्यारेलभन्दा तल झरेको थियो।

बिहीबार नै ओपेक प्लसले मे महिनादेखि लागु हुने गरी दैनिक उत्पादन बढाउने घोषणा गर्‍यो। ओपेक प्लसले मे महिनादेखि लागु हुने गरी दैनिक उत्पादन एक लाख २२ हजार ब्यारेलले बढाउने घोषणा पहिल्यै गरेको थियो।

ट्रम्पले बुधबार भन्सार युद्ध घोषणा गरेर तेलको भाउ घटिसकेपछि उत्पादन बढाए भाउ अझै घट्न सक्ने भएकाले ओपेक प्लसले उत्पादन बढाउने सो निर्णय फिर्ता लिने अपेक्षा गरिएको थियो। तर ओपेक प्लसले सो निर्णय फिर्ता लिनुको साटो एक लाख २२ हजार ब्यारेलले मात्रै उत्पादन नबढाएर मे महिनादेखि लागु हुने गरी दैनिक चार लाख ११ हजार ब्यारेलले बढाउने घोषणा गर्‍यो। यसले तेलको भाउ झन् घट्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार