एक पटक विभाजित भए भन्दैमा फेरि कम्युनिष्ट एकता असम्भव छैन : प्रचण्ड

२०८१ चैत्र २६, मंगलवार

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक पटक फुट हुँदैमा कुनै हालतमा कम्युनिष्ट एकता हुँदैन भनेर सोच्न नहुने बताएका छन् ।

आज प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

‘हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ मार्क्सवादी सोचाइ हुन सक्दैन । त्यो द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन,’ प्रचण्डले भने । यसअघि पटक–पटक कम्युनिष्ट एकताका प्रयास भए पनि सोचे जस्तो हुन नसकेको भन्दै उनले त्यसबाट शिक्षा लिनुको विकल्प नभएको जिकिर गरे ।

‘कम्युनिष्ट एकताका प्रयास नभएका होइन । कहिले त्यो सफल जस्तो कहिले असफल जस्तो हुने गरेका छन्। पछिल्लो चरणमा देशका दुईवटा अलि प्रभावशाली कम्युनिष्ट पार्टीका बीचमा एकताका प्रयास भए । एकता भयो पनि । सबैले अनुमोदन पनि गरे,’ प्रचण्डले भनेका छन्, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । झण्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि सरकारबाट सबैले प्रशंसा गर्ने भनौं वा इतिहासमा नाम रच्ने र पार्टीको एकतालाई बचाउन पनि सकेनौं । हामीले त्यसबाट शिक्षा लिनुको अर्को विकल्प छैन ।’

वामपन्थी एकताका लागि एक भएर अघि बढ्नुपर्ने भन्दै उनले एकताको झण्डा छाड्न नहुने तर्क पेस गरे । ‘वामपन्थी एकताको लागि निरन्तर लाग्नु नै छ। हामी विभाजित पनि भयौं । कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौं,’ प्रचण्डले भने, ‘तर, हामीले एकताको झण्डा चाहिँ छाडेका छैनौं । अन्ततः फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्छ । एकताको झण्डा छाड्नु हुँदैन भन्ने कुरामा प्रष्ट छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार