अर्घाखाँची : प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्न अर्घाखाँचीको पाणिनी आएका छन् । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन हुँदैछ । दुई दिनसम्म चल्ने सम्मेलनले संस्कृतको पुनरुत्थानसँगै पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सांस्कृतिक गौरवको पुनर्जागरणका मद्दत पुग्ने विश्वास गरिएको छ ।
पाकिस्तानको लोहारबाट सयौँ वर्ष पहिले अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिका १ र २ को पणेना जङ्गलमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको छ । २०७६ सालमा नेपाल सरकारले सय गन्तव्यभित्र पाणिनि तपो भूमिलाई पनि समेटेको थियो ।





