राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किंदैन : विश्वप्रकाश शर्मा

२०८१ चैत्र ३१, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने भन्दा पनि श्रीपेज चुनाव चिह्न लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।

नेपाली कांग्रेस बाँकेद्वारा शनिबार आयोजित तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले काठमाडौँको तीनकुने वा देशका विभिन्न सहरमा प्रदर्शन गर्दैमा राजसंस्था नफर्किने बताए । पूर्वराजा आफू चुनाव नउठी चुनाव चिह्न श्रीपेजमा अरूलाई उठाएर दुई तिहाइ सांसद जितेर राजसंस्था फर्काउन चुनौती दिँदै भने, “राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किंदैन ।”

महामन्त्री शर्माले देशभरका शिक्षकले सडकमा प्रदर्शन गरिरहेको बेलामा प्रधानमन्त्रीले बोलाएर समस्या टुङ्ग्याउनु पर्नेमा जोड दिए । उनले कुनै पनि प्रधानमन्त्रीलाई पाँच वर्ष काम गर्न दिने व्यवस्था गर्नुपर्ने बताए । महामन्त्री शर्माले कांग्रेस कार्यकर्तालाई कुनै व्यक्ति, गुट, उपगुटको पछि नलागेर सङ्गठनको पछि लागेमा पार्टी बलियो हुने भन्दै पार्टीले देश र जनताको विकासका पक्षमा काम गरिरहेको उल्लेख गरे । गाउँ, टोलस्तरमा पार्टीले गरेको सकारात्मक कामको प्रचार गरी विश्वासिलो बनाउन कार्यकर्तालाई उहाँले आग्रह गरे ।

सम्मेलनमा पार्टीका सह-महामन्त्री किशोरसिंह राठौरले नेताहरू इमान्दार र अनुशासित भएमा जनमत आफैँ बढ्ने भन्दै वडास्तरदेखि केन्द्रसम्म रहेका कार्यकर्ताले सङ्गठनको विकासमा लाग्नुपर्नेमा जोड दिए । बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न सम्मेलनको उद्घाटन समारोहमा कांग्रेसका केन्द्रीय सदस्यहरू दीपक गिरी, सञ्जय गौतम, मैकुलाल वाल्मीकि, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतले पार्टीलाई एक ढिका गरेर लैजानुपर्नेमा जोड दिए ।

सम्मेलनमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार