काठमाडौँ : काठमाडौँको उत्तरी क्षेत्र टोखामा लाग्ने सपनतीर्थ मेला सुरू भएको छ । टोखा नगरपालिका–२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज बिहानदेखि घुइँचो लागेको हो ।
प्रत्येक वर्षको वैशाख १ गते लाग्ने सपनतीर्थ मेलामा काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका दर्शनार्थीको भीड लागेको छ । आज एक दिन मात्र लाग्ने मेलामा बिहानदेखि हजारौँ भक्तजनले मेला भरेको टोखा वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिए । मेला भर्न आएका भक्तजनले मन्दिरमा पूजा गर्ने, स्नान गर्ने, भाकल गर्नेसमेत गरेका छन् ।
सपनतीर्थ मन्दिरमा पूजापाठ गर्ने तथा स्नान गर्नाले सन्तान प्राप्त हुने र सम्पत्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । टोखावासीको एकताको प्रतीकका रूपमा यस जात्रालाई लिने गरिन्छ ।





