काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)मा चितवन एफसीले धनगढी एफसीलाई हराउँदै प्लेअफमा पुगेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनले धनगढीलाई ३-१ ले पराजित गरेको हो।
चितवन तेस्रो स्थानमा रहँदै पोखरा थन्डर्ससँग एलिमिनेटर खेल्नेछ। लिगको अन्तिम खेलको रूपमा रहेको यो खेल सकिएसँगै प्लेअफ खेल्ने चार टिमको टुङ्गो लागेको छ। पहिलो स्थानमा रहँदै ललितपुर सिटी एफसीले क्वालिफायर एकमा धनगढीसँग भेट गर्नेछ भने एलिमिनेटरमा पोखरा र चितवनले एकअर्कासँग भिड्नेछन्।
आजको खेलमा धनगढीका लागि सातौँ मिनेटमा जज प्रिन्स कार्कीले खेलको मध्य भागबाट उत्कृष्ट गोल गरे। उनले मैदानको मध्यभागबाट गरेको प्रहारमा एफसी चितवनका गोलकिपर अमर नाइटले कुनै पनि मौका पाएनन्।
खेलको १४औं मिनेटमा चितवनले पेनाल्टी मार्फत बराबरी गोल फर्कायो। चितवनका लागि नोदिर माभ्लोनोभले पेनाल्टी गोल गरे। धनगढीका गोलकिपर जियारथ शेखले सही दिशातर्फ डाइभ गरे पनि बल रोक्न भने सकेनन्। पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा चितवनले दोस्रो गोल गर्यो। चितवनका लागि जय गुरुङ्गले गोल गर्दै टिमलाई पहिलो हाफमा २-१ अग्रता दिलाए। छिरिङ गुरुङले दायाँ तर्फबाट दिएको क्रसलाई हल्का टच गर्दै जाली चुमाएका हुन्।
टस पहिलो हाफमा २-१ को अग्रता लिएको चितवनले खेलको ५१ औँ मिनेटमा धनगढीका अमृत श्रेष्ठको खुट्टामा लाग्दै आत्मघाती गोल को रूपमा एक गोल उपहार पायो। भिक्टर मान्सारेले डिबक्सको दायाँ तर्फबाट हानेको क्रस डिफेन्ड गर्ने क्रममा अमृतलाई लागेर गोल भएको हो।





