काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन सिफारिस गरिएको छ ।
संसद्को सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन गर्न गठन गरेको उपसमितिले उक्त सिफारिस गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले विमानस्थल निर्माणको सुरुवातदेखि नै अनियमितता भएको दाबी गरेको छ ।
अधिकारी ०७१ सालदेखि ०७४ सालसम्म पोखरा विमानस्थल आयोजनाका प्रमुख रहेका थिए । ०७८ माघपछि उनी प्राधिकरणको महानिर्देशक छन् । उपसमितिले प्राधिकरणका पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेलमाथि अनुसन्धान हुनुपर्ने औँल्याएको छ ।
पोखरा विमानस्थल आयोजनामा ०७४ सालदेखि हालसम्म आयोजना प्रमुख बनेका विनेश मुनाकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, इन्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, प्राधिकरणका निर्देशक बाबुराम पौडेलमाथि पनि अनुसन्धान हुनुपर्ने उपसमितिको निष्कर्ष छ ।





