
काठमाडौं : नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई पार्टी महाधिवेशनको रङ्ग सरकारभित्र नघुसाउन आग्रह गरेका छन् । आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले महामन्त्रीद्वयले सरकारसँगको असन्तुष्टिको विषय सार्वजनिक रुपमा भन्दै हिँड्ने भन्दा पनि संयन्त्रमा राखेर छलफल गर्नुपर्ने बताए ।
‘नेपाली कांग्रेसका महामन्त्रीहरुको अभिव्यक्तिलाई त सरकारसँग सम्बन्धित अथवा सरकारलाई कसरी राम्रो बनाउने, डेलिभरीलाई कसरी प्रभावकारी बनाउने भन्दा पनि यो चाहीँ कांग्रेसको महाधिवेशन लागेको भन्ने अर्थमा बुझ्छु मैले । उहाँहरु महामन्त्री हो । सरकारमा सहभागी दुई दलको सर्वदलीय बैठकमा, उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुने, विषय वस्तु केही छन् भने त्यहाँ राखेर त्यसको समाधानका लागि पहल कदमी गर्ने । त्यो जिम्मेवारीमा उहाहरु हुनुहुन्छ । उहाँहरुले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ । महाधिवेशनको रङ्ग सरकारभित्र घुसाउने र महाधिवेशनको तयारीको लागि सरकारसँग हुँदै नभएको कुरा जोडेर सरकार बलियो बन्दैन,’– उनले भने ।
नेपाली कांग्रेसका महामन्त्री थापाले सरकारको बारेमा निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएका छन् । महामन्त्री थापा आफैं सरकार सञ्चालनका लागि गठन भएको दुई दलीय संयन्त्रभित्र रहेर काम गरिरहेका पनि छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले त सरकारसँगका असन्तुष्टिका ७ वटा विषय नै सार्वजनिक गरिसकेका छन् । यस्तै, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेताहरु डा.शेखर कोइराला, एनपी साउदलगायतले सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरिरहेका छन् ।