
काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता आज अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आयोजना हुने ‘आदिवासी जनजातिहरूका मुद्दाहरू’ सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चको २४औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए । उनले यही वैशाख ८ देखि १९ गते (अप्रिल २१ देखि मे २ तारिखसम्म) आयोजना हुने सो कार्यक्रममा सहभागिता जनाउनेछन् ।
उनी वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ । ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यु’ विषयक सो कार्यक्रममा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दामा पनि छलफल हुनेछ ।