काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले गठबन्धन सरकार सञ्चालन गर्न सहज नभएको बताएका छन् । दाङ पुगेका नेता महतले कार्यकर्ता भेटघाटका क्रममा माओवादीसँग कांग्रेस र एमाले दुवैको सहकार्य राम्रो नभएपछि बाध्य भएर मिल्न परेको सुनाए ।
उनले भने, ‘गठबन्धन भन्नेबित्तिकै सरकार सञ्चालन गर्न त्यति सजिलो हुँदैन । चलिरहेको छ । हामीले सोचेअनुसार सबै कुरा हुँदैन । हामीले भनेको सय प्रतिशत नभए पनि ५० प्रतिशत त होला भनेरै सहकार्यमा छौं । हुँदै नहुनुभन्दा त ५० प्रतिशत भएमात्रै पनि हुनु सही । सके ६० प्रतिशत गरौंला ।’ उनले सत्तामा नहुँदा तल्ला तहका नेता कार्यकर्ताको स्वाभाविक गुनासो हुने गरेको बताए ।
प्रवक्ता महतले विद्युत प्राधिकरणमा एमालेको प्रस्तावलाई स्वीकार गरेकाले राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्ने बताए ।





