काठमाडौं : क्रुनाल पाण्डेको शानदार अलराउण्ड प्रदर्शनले रोयल च्यालेन्जर्स बंग्लोरु (आरसिबी)लाई आइतबार दिल्ली क्यापिटल्सविरुद्ध महत्त्वपूर्ण जित दिलाएको छ। यस जितसँगै आरसिबीले आफ्नो प्ले अफको सम्भावना बलियो बनाउँदै आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ।
दिल्लीले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा आरसिबीले ९ बल बाँकी छँदै मात्र चार विकेट गुमाएर १६५ रन जोड्न सफल भयो। सुरुवाती तीन विकेट सस्तोमा गुमाएपछि मैदानमा आएका क्रुनाल पाण्डेले धैर्यतापूर्वक उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा अविजित ७३ रनको योगदान दिए। उनले विराट कोहलीसँग चौथो विकेटका लागि महत्वपूर्ण ११९ रनको साझेदारी गरे। कोहलीले पनि ४७ बलमै ५१ रन बनाए। अन्त्यतिर टिम डेभिडले ५ बलमा छिटो १९ रन थप्दै जित सुनिश्चित गरे।
बलिङतर्फ दिल्लीका कप्तान अक्षर पटेलले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिए। त्यसअघि, टस गुमाएर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा आठ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। केएल राहुलले ३९ बलमा ४१ रन बनाउँदै सबैभन्दा धेरै रन जोडे। ट्रिस्टियन स्टब्सले पनि आक्रामक खेल्दै १८ बलमा ३४ रन थपेका थिए।
आरसिबीका बलरहरूले पनि प्रभावकारी प्रदर्शन गरे। भुवनेश्वर कुमारले चार ओभरमा ३३ रन खर्चेर तीन विकेट झारे भने जोस हजेलउडले दुई विकेट लिए। क्रुनाल पाण्डेले चार ओभरमा २८ रन खर्चेर एक विकेट हात पार्न सफल भए। सुयास शर्माले भने अत्यन्तै किफायती बलिङ गर्दै चार ओभरमा केवल २२ रन खर्चिए।





