जुम्ला : जिल्लाको पातारासी गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र)को पालिका कमिटी अध्यक्षमा भक्तबहादुर बुढा निर्वाचित भएका छन् ।
पालिका कमिटीको दोस्रो अधिवेशनले बुढाको अध्यक्षमा ४५ सदस्यीय पालिका कमिटी गठन भएको नेकपा माओवादी केन्द्रका सचिव नवीन शर्माले जानकारी दिए । सर्वसम्मत रूपमा पालिका कमिटी निर्वाचित भएको हो । बुढा माओवादी केन्द्रको पालिका कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका हुन्।
कमिटीको उपाध्यक्षमा पूर्णराज बुढा, एलिना बुढा र रुप्सी महतारा चयन भएका छन् । सचिवमा गौरीशङ्कर बुढा, कोशाध्यक्ष बाँचु बुढा, सहसचिव धर्मसिंह थापा निर्वाचित भएको पार्टी सचिव शर्माले बताए । आइतबार भएको पालिका अधिवेशनको उद्घाटन माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले गरेका थिए ।
अधिवेशन उद्घाटनमा माओवादी केन्द्रका इञ्चार्ज नरेश भण्डारी, सह इञ्चार्ज गोमा गौतम, प्रदेश कमिटी सदस्य, केन्द्रीय सदस्य तथा कल्पिक केन्द्रीय सदस्यलगायतको उपस्थिति थियो । अहिलेसम्म जिल्लाका आठ वटा स्थानीय तहमध्ये पातारासी र गुठीचौर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ ।
वडाको अधिवेशन धमाधम हुँदै
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जुम्लाले वडाको अधिवेशनसमेत धमाधम भइरहेका छन् । अहिलेसम्म हिमा, तातोपानी पातारासी र गुठीचौर, कनकासुन्दरीका २ वडा र चन्दननाथ नगरपालिका–१ वडाको अधिवेशन सम्पन्न भइसकेका छन् । तिला, सिञ्जा र चन्दननाथका वडाको अधिवेशन गर्ने बाँकी रहेको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ ।





