काठमाडौं : राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराएको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको हो ।
गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ओपनर वैभवले ३५ बलमा शतक पूरा गरे भने शतकलगत्तै १ रन लिएपछि त्यसपछि फेस गरेको दोस्रो बलमा बोल्ड भएका थिए । पहिलो विकेटका लागि अर्का ओपनर यशश्वी जैसवालसँग मिलेर १६६ रनको साझेदारी गरेपछि राजस्थानको जित निश्चित भइसकेको थियो । ३८ बलको सामना गरेका वैभवले ७ चौका र ११ छक्कासहित १०१ रन तथा जैसवालले अविजित ७० रन बनाए ।
आजको प्रदर्शनपछि वैभव आइपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने भने सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन् । समग्रमा यो दोस्रव छिटो शतक हो । क्रिस गेलले सन् २०१३ मा ३० बलमै शतक बनाएका थिए । कप्तान रियान पराग ३२ रनमा नटआउट रहे । प्रसिध कृष्णा र राशिद खानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए भने जस बट्लर ५० रनमा नटआउट रहँदा साइ सुदर्शनले ३९ रन बनाए ।
राजस्थानका महीश थिक्सानाले २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १-१ विकेट लिए ।





