काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन्।
एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरु नियन्त्रण गर्नुपर्ने पनि बताए।
उनले भने, ‘श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरु हुन् । सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरुलाई जनताको घरदैलोमा पुर्याउनका लागि र श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुर्याउन श्रम संसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन गर्दछु ।’
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरु प्राप्त गर्न र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अह भूमिका रहने बताए।
श्रमिक, रोजगारदाता र रोजगार सेवा वीचको दुरी हटाइ फेसलेस, प्रोसेसलेस र म्यानुपुलेसनलेस बनाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकास मार्फत श्रम समाजको सम्पूर्ण वर्ग र समाजलाई यसले नियमन गर्दै राष्ट्रलाई सम्बृद्धितर्फ लैजान सहयोग गर्नेछ ।
सरकारले आगामी दशकलाई आन्तरिक प्रवद्र्धन दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी प्रधानमन्त्री ओलीले आह्वान गरे।





