एनआईसी एशिया बैंकको ओरालो यात्रा कायमै, नाफामा भारी गिरावट

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौं : २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

बैङ्कहरूले सार्वजनिक गरेको अपरिकृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा घट्नेमा एनआईसी  एशिया बैंक रहेको छ । चालु आर्थिक वर्षको नौ महिनामासम्ममा एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस्तो नाफा गत आवको सोही अवधिमा १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा रहेको छ । यस्तै सञ्चालन नाफा ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख रुपैयाँ रहेको छ ।चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख २ हजार रुपैयाँ ऋणात्मक छ ।

२ खर्ब ९४ अर्ब ६ करोड १ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गेको बैंकले २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ।

बैंकको मुनाफा घट्दै गएपछि लगानीकर्ताहरू पनि निराश बनेका छन्। चालु आर्थिक वर्षको पहिलो दुई त्रैमासमा वितरणयोग्य नाफा ऋणात्मक रहेकोले बैंकले लाभांश वितरण गर्ने अवस्था छैन। यसअघि पनि बैंकले आव २०७७/७८ र २०७८/७९ मा लाभांश वितरण गर्न पाएको थिएन। हालसम्म लाभांश पाउने आशामा रहेका लगानीकर्ताहरूको विश्वासमा गिरावट आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार