काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको सत्ता संयोजन (गठबन्धन) तत्काल तोड्नुपर्ने बताएका छन्।
नवलपुरको डन्डामा नेपाल थारु सङ्घ नवलपुरको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले वर्तमान संयोजनले मुलुकलाई ‘एमालेकरण’ तर्फ धकेल्दै लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई गम्भीर क्षति पुर्याइरहेको आरोप लगाए। डा.कोइरालाले संविधान संशोधनजस्तो गम्भीर विषयमा कांग्रेस–एमाले मात्र मिलेर अघि बढ्नु लोकतान्त्रिक प्रक्रिया नभएको स्पष्ट पारे।
‘सत्ताका लागि जे पनि गर्न तयार, सिद्धान्तविहीन गठबन्धन कांग्रेसका लागि दीर्घकालीन रूपमा घातक छ,’ भन्दै उनले पार्टी नेतृत्वलाई जनतामुखी नीति, पारदर्शिता र राजनीतिक शुद्धताको बाटो समात्न सुझाव दिए।





