काठमाडौं : झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।
गोली चलाएर नियन्त्रणमा लिने प्रयास भए पनि लागुऔषध कारोबारी भने भाग्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार बिहान पौन ९ बजेतिर कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गरेको थियो ।
सो क्रमा बीआर ३७टी९१९८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई रोकेर जाँच गर्न लाग्दा उनी आफ्नो झोला समेत छाडेर फरार भएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाए पनि उनी भाग्न सफल भएका थिए । झापाका डीएसपी खड्काले भने दुई राउण्ड हवाई फायर गरिएको बताए । ती व्यक्ति मोटरसाइकल र झोला समेत छाडेर भागेका थिए ।
उक्त झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।





