काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँग फोनमा लागुऔषध तस्करीविरुद्ध लड्न अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गरेकी छन्। सेनबामले शनिबार सार्वजनिक कार्यक्रममा ट्रम्पको सेना पठाउने प्रस्ताव अस्वीकार गरेको, तर सहयोग र सूचना साझेदारीको विकल्प प्रस्ताव गरेको बताएकी थिइन्।
ट्रम्पले आइतबार पत्रकारहरूसँग भने, ‘कार्टेलहरू डरलाग्दा छन्, जसले मानिसहरू मारिरहेका छन्। मैले सैनिक तैनाथीको प्रस्ताव गरेको सत्य हो।’
उनले भने, ‘उनीहरूले लागुऔषध बेचेर हाम्रा मानिसहरूलाई नष्ट गरेर पैसा कमाए। गत वर्ष हामीले तीन लाख मानिस फेन्टानिल र लागुऔषधका कारण गुमायौँ। यदि मेक्सिकोले कार्टेलविरुद्ध मद्दत चाहन्छ भने हामी गएर त्यसो गर्न पाउँदा सम्मानित हुनेछौँ। मैले उनलाई यही भने। म गएर यो गर्न पाउँदा सम्मानित हुनेछु।’
ट्रम्पले मेक्सिकोले आप्रवासी र लागुऔषध, विशेष गरी फेन्टानिल, अमेरिकामा तस्करी रोक्न पर्याप्त काम नगरेको भन्दै भन्सार शुल्क लगाउने तर्क गरेका छन्।
उनले मार्चमा मेक्सिकोलाई ‘अपराधिक कार्टेलको प्रभुत्वमा रहेको’ भन्दै मेक्सिकालीहरूलाई रिस उठाएका थिए। आइतबार ट्रम्पले सेनबामले कार्टेलको धम्कीका कारण सेना पठाउने प्रस्ताव अस्वीकार गरेको दाबी गरे। उनले भने, ‘मेक्सिकोका राष्ट्रपति प्यारी महिला छन्, तर उनी कार्टेलबाट यति डराउँछिन् कि सिधा सोच्न पनि सक्दिनन्।’ एएफपी





