हामी मोटाउँदै गयौँ, देश दुब्लाउँदै गयो: कांग्रेस सांसद

२०८२ बैशाख २५, बिहीबार

काठमाडौँ : प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले नेताहरू मोटाउँदा मुलुक दुब्लाउँदै गएको टिप्पणी गरेका छन्। सरकारका नीति तथा कार्यक्रमअन्तर्गत बिहीबार (आज) को संसद् बैठकमा भाग लिँदै गौतमले यस्तो बताएका हुन्।

‘मुलुकलाई आज एउटा बाटो, एउटा विकास दिने बेलामा म यो संसद्‌मा के देखिरहेको छु भने ११ वर्षको मेरो अनुभवले, एक खालको भाइब्रेसन हुनुपर्ने हो, त्यो छैन। जुन किसिमले यो मुलुकलाई लैजान खोज्नुपर्ने हो, लैजान सकिरहेका छैनौँ। हामी मोटाउँदै गएका छौँ, मुलुक दुब्लाउँदै गएको छ,’ गौतमले भने।

उनले शीर्षस्थ नेताहरूलाई १५ वर्ष अघिको आफ्नो फोटो र अहिलेको तुलना गरेर हेर्न आग्रहसमेत गरे। ‘म सबै दलका शीर्षस्थ नेताहरूलाई आग्रह गर्न चाहन्छु- हामीले आफ्नो १५ वर्ष पहिले र अहिलेको फोटोलाई तुलना गरेर हेरौँ। मुलुक किन अप्ठ्यारोमा परेको छ ? कसैलाई दोष दिनुपर्ने छैन। यो कसले सुधार्छ त ? हामी सबैले गर्ने हो। संविधान संशोधनहरूका कुरा छन्। नौ महिना भयो सँगै बसेको। कहाँ पुग्यौँ हामी ? संविधान संशोधन नगरी हामी यहाँबाट निस्कन सक्छौँ ?,’ उनले सोधे।

०१५, ०७५ र अहिले गरी तीनपटक मुलुकलाई ‘डिपार्चर’ गर्न सकिने मौका आएको तर, अहिले पनि पार नलाग्ने सम्भावना बढेको गौतमले बताए।

‘नौ महिनादेखि कांग्रेस र एमाले गठबन्धनको सरकार छ, दुईतिहाइको नजिक छ। यो पनि एउटा ऐतिहासिक अवसर हो। यस्तो बेला पनि गुम्छ कि भन्ने डर मलाई लागेको छ। यो बेला मुलुकका ठूला दुईवटा डेमोक्रेटिक पार्टीहरू फर्स्ट लार्जेस्ट र सेकेन्ड लार्जेस्ट पार्टी एक ठाउँमा उभिने; यो नेचुरल प्रोसेस र नेचुरल प्याटर्न थिएन। तर, मुलुकको विशिष्ट परिस्थितिले एक ठाउँमा ल्यायो। यिनले हरेक पटक क्रान्तिको नेतृत्व गरे, हरेक परिवर्तनको नेतृत्व गरे, हरेक ठाउँमा उभिए। कहिले झगडा गरे, कहिले मिले। प्रतिपक्षमा संयोगले नेकपा माओवादी जस्तो पार्टी आज छन्,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार