काठमाडौँ : बाजुराको बडिमालिका क्याम्पसमा कार्यरत ३८ वर्षीय प्राध्यापक नरेन्द्र थापा बुधवार साँझ रहस्यमय अवस्थामा मृत फेला परेका छन् ।
स्थानीय बुढीगंगा नगरपालिका-६, सायल घर भएका थापा क्याम्पस नजिकै रहेको साफे-मार्तडी सडक खण्डको छेउको नालीमा घोप्टो परेर मृत अवस्थामा भेटिएका हुन् । थापा बिहान नियमित रूपमा कक्षा लिन गएका थिए भने साँझ साढे ६ बजेतिर क्याम्पसदेखि करिब ५ सय मिटर दूरीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्राप्त जानकारीअनुसार दुवै आँखा फुटेका, टाउको र मुखमा गहिरा चोट लागेको अवस्थामा थापाको शव भेटिएको हो । यस्ता चिन्हहरूले उनीमाथि हिंसात्मक हमला भएको आशंका थप बलियो बनाएको छ । स्थानीय बासिन्दा घटनास्थलमा पुगेपछि स्तब्ध बनेका थिए ।
थापा परिवारसँग टाढा बस्दै आएका थिए र क्याम्पस नजिकै एक्लै घरमा बस्ने गर्थे । उनकी श्रीमती स्वामीकार्तिक खापर गाउँपालिकामा शिक्षिकाका रूपमा कार्यरत छिन् । घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने स्थानीयको आशंका छ । प्रहरीको प्रारम्भिक अनुसन्धानपछि थप खुलासा हुने अपेक्षा गरिएको छ ।





