
काठमाडौँ : श्रीलंकामा बौद्ध तीर्थयात्री सवार बस आइतबार बिहान मध्य पहाडी क्षेत्र कोटमालेको रामबोडा, गेरान्डिएला नजिकै भीरबाट खस्दा २१ जनाको मृत्यु भएको छ। कम्तीमा ३५ जना घाइते भएका छन्, जसलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ।
यो श्रीलंकाको दशककै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक हो। श्रीलंका यातायात बोर्डको बस कातारागामाबाट कुरुनेगालातर्फ जाँदै थियो। बसमा क्षमताभन्दा बढी, करिब ७० यात्रु सवार थिए। दुर्घटना बस चालकले पहाडी भूभागमा बायाँ मोड लिने क्रममा भएको प्रहरीले बताएको छ।
प्रहरीले दुर्घटनाको कारण यान्त्रिक खराबी वा चालक निदाएको हुन सक्ने अनुमान गरेको छ। एक प्रहरी अधिकारीले भने, ‘हामी यो यान्त्रिक खराबी हो वा चालक निदाएर दुर्घटना भएको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छौँ।’
‘दुर्घटनामा घटनास्थलमै १५ जनाको मृत्यु भएको थियो, र अन्यको अस्पतालमा मृत्यु भएको छ। हामीले ३५ घाइतेलाई अस्पताल पठाएका छौँ,’ प्रहरीले बताएको छ। मृतकको पहिचान अझै पुष्टि हुन बाँकी छ।
श्रीलंकामा वर्षेनी करिब तीन हजार सडक दुर्घटना हुन्छन्, जसमा बसहरू प्रायः संलग्न हुन्छन्। खराब सडक, लापरबाहीपूर्ण चालक र पुराना सवारीका कारण यहाँका सडकहरू विश्वकै खतरनाकमध्ये पर्छन्।
सन् २००५ मा पोल्गाहावेलामा रेलले बसलाई ठक्कर दिँदा ३७ जनाको मृत्यु भएको थियो। सन् २०२१ मा पासारामा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको थियो। यो आइतबारको दुर्घटना पनि श्रीलङ्काको इतिहासमा सबैभन्दा घातकमध्ये एक हो। एजेन्सी