
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवाले यो गठबन्धन ठीक छ भनेको दिनसम्म कांग्रेस–एमालेसहितको सरकार कामय रहने बताएका छन् । जनता जान्न चाहन्छन् कार्यक्रममा उनले सभापति देउवालाई गठबन्धन ठीक लाग्दासम्म जसले जति बल गरे पनि कांग्रेस–एमाले गठबन्धन नभत्किने दाबी गरेका हुन् । नेता रिजालले नेकपा (एमाले) मा पनि केपी शर्मा ओलीले भनेको भन्दा दायाँबायाँ नहुने र कांग्रेसमा त आफू सभापति देउवाले भनेको भन्दा एक इन्च तलमाथि हुँदैन भन्नेमा ढुक्क रहेको बताएका हुन् ।
‘मेरो पार्टीमा सभापतिजीले यो गठबन्धन ठीक छ भनेर हामीलाई भन्दासम्म त्यो गठबन्धन कायम रहन्छ । ओलीजीको पार्टीमा हामीलाई के लाग्छ भने– ओलीजीले यो गठबन्धन ठीक छ भन्दासम्म उहाँको पार्टीबाट धेरै ठूलो खटपट नहोला । तर, उहाँको पार्टी भन्दा पनि अझ मेरो पार्टीको त ढुक्क साथ भन्छु– सभापतिले यो गठबन्धन ठीक छ भनेको दिनसम्म गठबन्धन कायम रहन्छ । उहाँले अन्यथा भन्नुभन्दा अगाडि यो गठबन्धनमा जसले जति कराए पनि केही पनि हुँदैन,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले डा.शेखर कोइरालालाई कांग्रेसको आगामी १५औं महाधिवेशनमा सबैभन्दा धेरै सम्भावना रहेको नेताको रुपमा चित्रण गरे । उनले आफू विगतमा पनि शेखरकै टिममा बसेर चुनाव लडेको र अहिलेसम्म पनि साथ कायमै रहेको बताए ।
‘सभापति हुन समर्थन जुटाउन सक्ने खालका नेताहरुमध्ये अरुभन्दा शेखरजी नै कन्भिन्सिङ देखिनुभएको छ । मैले शेखरजीको टिममा बसेर चुनाव लडेँ । आजसम्म शेखरजीसँग बसेर काम गरिरहेको छु,’– उनले भने ।
नेता काइरालाले २०७९ को निर्वाचनपछि महामन्त्री गगन थापाले १५औं महाधिवेशनमा शेखरलाई सघाउने सहमति नै गरेको उनले बताए । नेता रिजालका अनुसार सोही सहमतिको आधारमा गगनलाई शेखरले संसदीय दलको नेतामा उठाएका थिए । नेता रिजालले गगन र आफूबीच बेलाबेलामा फोन संवाद हुने गरेको र केही दिनअघि मात्रै दाङमा हुने कार्यक्रममा जाँदा आउँदासमेत लामो कुराकानी भएको बताए । सो क्रममा गगनले १५औं महाधिवेशनमा कुन पदमा उठ्ने भन्ने माइन्ड मेकअप नगरिसकेको नेता रिजालको दाबी छ ।
‘अब संसदीय दलको नेतामा गगन थापा लड्नुहुन्छ । पछि पार्टी सभापतिमा सबै मिलेर शेखरजीलाई समर्थन गर्ने सहमति भएको छ । हिजोअस्ती भर्खर पनि महामन्त्री गगन थापाले भन्नुभयो– मैले पार्टीको आगामी महाधिवेशनमा कुन पदमा लड्ने भनेर माइन्ड मेकअप गरेको छैन भन्नुभयो । उहाँ र म सँगै दाङमा कार्यक्रममा जाँदा कुरा गर्यौं । फर्केर आउँदा पनि कुरा भयो । बेलाबेलामा फोनमा पनि कुरा हुन्छ,’– उनले भने ।