
काठमाडौं : कारोबार हुन साताको अन्तिम दिन पनि बजार परिसूचक नेप्से घटेको छ । गत साताको अन्तिम कारोबार दिनदेखि घटिरहेको नेप्सेले यो साताको कारोबार हुने अन्तिम दिन बिहीबार ८.४१ अंकले घटेको हो । नेप्से परिसूचक ८.४१ अंक घटेर २६११.८५ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स १.४४, फ्लोट इण्डेक्स ०.६८ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ।
बुधबारको तुलनामा कारोबार रकममा एक अर्ब ६५ करोडको गिरावट आएको छ । बुधबार ८ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३२० स्टकको ७८ हजार ४९३ पटकको कारोबारमा ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७४ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सबैको घटेको छ । पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.९१ प्रतिशतले बढेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ५७ रुपैयाँ ८० पैसा बढेर ६३६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भयो भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । बाराही हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशतले वृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.६५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सोल्टी होटलको ४६ करोड १९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। राधी विद्युत कम्पनीको ४४ करोडभन्दा बढी र युनिभर्सल पावर कम्पनीको करिब साढे ३३ करोडको शेयर किनबेच भएको छ।