काठमाडौँ : नेपाली कांग्रेसले अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन गर्ने पार्टीको कुनै सोच नरहेको स्पष्ट पारेको छ ।
संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धन गर्ने कुरा वा सरकार परिवर्तनको योजना नरहेको बताएका हुन् ।
प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले गभर्नर नियुक्तिको विषय प्राविधिक कारणले ढिलाइ भएको र यसमा सत्ता साझेदार दल नेकपा एमालेले दिन नचाहेको भन्ने कुरामा पनि कुनै सत्यता नरहेको जिकिर गरे । उनले अब चाँडै नै गभर्नर नियुक्ति हुने पनि स्पष्ट पारे ।
त्यसैगरी, कांग्रेस सांसद प्रकाशशरण महतले पनि डडेलधुराबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सभापति शेरबहादुर देउवालाई फोन गर्नु संयोग मात्र भएको बताए । यसअघि देउवाको गृह जिल्ला पुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको स्मरण गर्दै उनले प्रचण्डले पनि त्यहाँ पुगेर देउवालाई सम्झेको मात्र जिकिर गरे ।





