काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने भाष्य बनाइन लागेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्बोधन गर्दै उनले यस्ता प्रवृत्तिप्रति सजग रहन आग्रह गरेका हुन्।
‘हितेन्द्र शाक्यजी! तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ। आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ। तर सजग रहनुहोला, बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिनेलाई देवता खडा गर्ने समाज हो यो,’ उनले भनेका छन्।
देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा भएको उनले बताएका छन्। तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेको पनि रिमालको आरोप छ।





