काठमाडौँ : नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास कुनै पनि बहानामा उचित र सही नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार भइरहेको भन्दै सांसदहरूलाई कोष नभएर योजना सिफारिस गर्ने अधिकार रहेको बताए ।
‘यसबाट व्यवस्था विरोधी,अस्थिरता र अराजकतावादीहरू हौसिने तथा अनावश्यक रूपमा आम नागरिक र आम मतदाता थप असन्तुष्ट र निराश हुनेछन्’, थापाको भनाइ छ । उनले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी अटुट र अन्योन्याश्रित जोड्नु अनिवार्य रहेको पनि बताए । तर समाजमा एकथरी मानिसहरूले यस कार्यलाई अलग गर्नुपर्ने भनेर वाहियात छलफल, बुद्धि विलासका साथै पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेको उनले आरोप लगाए ।
‘१६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरू आ-आफ्नो क्षेत्र र जिल्लाको विकासमा सक्रिय योगदान दिने पार्टीको स्पष्ट घोषणापत्र र प्रतिविद्धतासहित मतदाताको विश्वास जितेर निर्वाचित भएको बस्तुगत अवस्थालाई हेक्का राख्नुपर्छ’, थापाले भने, ‘सांसदहरूलाई कोष होइन योजना सिफारिस गर्ने अधिकार दिँदा त्यस विरुद्ध किन बकवास गरिन्छ ? बजेटमा छलफल, बहस र पारित गर्ने संवैधानिक कानुनी अधिकार नै हो । ’





