काठमाडौँ : भारत, छत्तीसगढको नारायणपुरमा भएको मुठभेडमा प्रहरीले २६ माओवादी मारिएको दाबी गरेको छ। राज्यका गृहमन्त्री विजय शर्माले बुधबार भने, ‘ओरछा क्षेत्रमा करिब ५० घण्टादेखि खोजी अभियान चलिरहेको थियो। यसमा २६ भन्दा बढी माओवादी मारिएका छन्। केही ठूला माओवादी कार्यकर्ता पनि मारिएको खबर आएको छ।’
खोजी अभियान अझै जारी रहेकाे भन्दै उनले मृतकहरूको संख्या बढ्न सक्ने बताएका छन्। मन्त्रीले भने, ‘हाम्रो सरकार छत्तीसगढलाई रातो आतंकबाट मुक्त गर्न प्रतिबद्ध छ।’
उनका अनुसार विगत १५ महिनामा छत्तीसगढमा प्रहरीले माओवादीविरुद्ध तीव्र कारबाही गरेको छ। यसअवधिमा चार सयभन्दा बढी माओवादी मारिएकाे दाबी उनकाे छ।
यसअघि केन्द्र सरकारका गृहमन्त्री अमित शाहले सन् २०२६ मार्च ३१ सम्ममा माओवाद पूर्णरूपमा उन्मूलन गर्ने घोषणा गरेका छन्। बीबीसी





