गृहमन्त्रीमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भयो: शशांक कोइराला

२०८२ जेष्ठ १२, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताएका छन् ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले बैठकमा गृहमन्त्रीको प्रष्टीकरणपछि उनको चरित्र हत्या गर्ने काम भएकोप्रति आफू स्पष्ट भएको बताएका हुन् । गृहमन्त्रीले एक इन्च पनि गल्ती नगरेको र उनीमाथि लगाइएका सबै आरोप गलत भएको दाबी गर्दै मंगलबारको संसद्मा गृहमन्त्रीले जवाफ दिने जानकारी दिए ।

नेता कोइरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरूसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताए । उनले भने, ‘गृहमन्त्रीले आज जुन कुरा राख्नुभयो म छर्लङ्ग भएँ । एक इन्च पनि उहाँले गल्ती गर्नुभएको छैन । जति पनि आरोप लागेको छ त्यो बेबुनियादी आरोप हो । उहाँमाथि लाञ्छना लगाइएको छ त्यो गलत हो । भोलि उहाँले संसद्मा जवाफ दिनुहुनेछ । हामीले के भनेका छौँ भने सभापतिलाई बोलाएर सोध्न भनेका हौँ । गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरूलाई बोलाएर सोध्न पार्टी सभापतिलाई भनेका हौँ । एक आपसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन । शेखर, सुनिल र राजेन्द्र बजगाईँसँग स्पष्टीकरण सोध्न भनेका छौँ । पार्टीका नेताविरुद्ध नै लाग्ने नेताहरूसँग के कति कारणले भनेको हो त्यसबारेमा स्पष्टीकरण लिनै पर्छ ।

प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता कोइरालाले नेपालका लागि अहिले विकास र स्थिरता चाहिएकाले मुठभेडको राजनीतिले कसैलाई फाइदा नपुग्ने बताए । उनले चुनाैतीको सामना गर्दै निश्चित बाटो निकाल्न सक्नु नै आजको आवश्यकता भएको स्पष्ट पारे ।

उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिबारे– म कन्फन्ट्रेसनको राजनीतिमा मलाई विश्वास छैन । यो मारकाटका कुरा गर्दा जे पनि हुनसक्छ । यसको समाधानका लागि बसेर छलफल गर्ने हो । मुठभेड गरेर कसैलाई फाइदा पुग्दैन । नेपालको लागि अहिले विकास र स्थिरता चाहिएको छ । स्थिरता र विकासका लागि हामी मिलेर जानुपर्छ । न कि कन्फन्ट्रेसनको बाटो । राजनीतिमा च्यालेन्ज फेस गर्न सक्नुपर्छ र त्यसलाई चिर्दै निश्चित बाटो निकाल्न सक्नुपर्छ । यस प्रकारको मुठभेड राष्ट्रको लागि राम्रो होइन ।’

उनले पार्टी चलाउन संगठनका सबै हिस्सा बराबर हुनुपर्ने भन्दै संगठनलाई निकास दिनका लागि मात्रै बैठकहरू गरिरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार