काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा दुरुपयोग प्रकरणमा आफ्नो कुनै संलग्नता रहेको प्रस्टाएका छन् ।
संसद्मा बोल्न नपाएपछि बुधबार पत्रकार सम्मेलन गर्दै लेखकले आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको बताएका हुन् ।
‘भिजिट भिसा दुरुपयोगका विषयमा मन्त्रीको संलग्नता छ भन्ने ढंगले प्रचार प्रसार, समाचार, सामाजिक सञ्जालमा टिप्पणी आएका छन्,’ उनले भने, ‘यो असत्य हा । बेठीक हो । मेरो कुनै संलग्नता छैन । मेरा विरुद्धमा नियोजित, षडयन्त्रमूलक ढंगले राजनीतिक पूर्वाग्रह देखाइयो ।’
उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’
उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको भन्दै सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको जिकिर गरे ।





